काैसीबाट काठमाडाैँलार्ई नियाल्दाः वातावरण दिवस विशेष

जनसंख्या ज्यामितीय अनुपातमा वृद्धि हुँदै जान्छ भने खाद्यान्न उत्पादन अंकगणितीय अनुपातमा वृद्धि हुँदै जान्छ । यसले गर्दा जनसंख्या र खाद्यान्नमा असन्तुलन हुन गई पृथ्वीमा खाद्यान्नको अभाव सिर्जना हुन्छ र पृथ्वीमा भयावह अवस्था आउन सक्छ । त्यसैले मानवले बेलैमा सजग भई जनसंख्या नियन्त्रण गर्नुपर्छ । यदि त्यसो नगरेमा प्रकृति आफै बाध्यकारी भई विभिन्न घटना र विपत्तिहरु जस्तै भोकमरी, अनिकाल, महामारी, युद्ध, बाढी, पहिरो, भुकम्प, ज्वालामुखी आदिमार्फत् जनसंख्या नियन्त्रण गर्न बाध्य हुन्छिन् ।                                                             – थोमस रोबर्ट माल्थस (१४ फेब्रुअरी, सन् १७६६) 

जेष्ठ २३, काठमाडौँ ।

समयको गतिसँगै दाैडिरहेको जिवनमा कोरोना भाइरसको ब्रेक लागेछ क्यारे । समय त उही गतिमा चलिरह्यो, दैनिकी भने घरको चार भित्तामा अल्झिरह्यो । त्यसैले त हरेक विहान नयाँ जोसका साथ ब्यूँतिने यी आँखा अचेल केही अल्छि भएका छन् । शरिर पनि हत्तपत्त ओछ्यान छोड्नै मान्दैन । जाँगर नलागेरै भएपनि उठेँ र दिनको सुरुवात गरेँ ।

धेरै दिनपछि आज कौसीमा बसेर प्रकृतिमा रमाउन मन लाग्यो । लकडाउनको कारण आफ्नो माैलिक स्वरुपमा फर्केकी काठमाडौँलाई नियाल्न मन लाग्यो । थोरै भएपनि वरिपरिको हरियालीको आनन्द लिन मन लाग्यो । चराचुरुगीँको चिरविर चिरविर आवाजमा आँफैलाई हराउन मन लाग्यो ।  

चियाको चुस्कीसँगै आँखा घरछेउमा रहेको बगैँचामा पुगेर टक्क अडिए । आँपको रुखमा लटरम्म आँपका दाना लागेका थिए । कुनैबेला हरेक पातहरुमा बाक्लो धुलोको लेप लाग्ने आँपको रुख आज नुहाएर चिटिक्क अनि सफा देखिएको थियो । धुलोकै कारण आफ्नो रङ बदल्ने फूलहरु पनि आज आफ्नै सुन्दर स्वरुपमा फर्केका थिए । हेरिराखौँ जसरी, सुम्सुम्याई राखौँ जसरी । पुष्परसको सुगन्धले होला अचेल माहुरी पनि भुनभुनाउन थालेका थिए ।  

बगैँचाको पल्लोपट्टि सुनसान सडक छ । जहाँ न धुवाँधुलो छ, न त गाडीको होहल्ला नै । त्यहीँ छेउमा राखिएको प्रदुषण मापक यन्त्रले पनि कयौँ पछि हरियो बत्ति बाल्ने सौभाग्य पाएको थियो । आहा, कति सुन्दर देखिएको वातावरण । अझ त्यसमाथिको छिपछिपे वर्षाले मन साँच्चिकै लोभ्याइरहेको थियो । कुनै समय थियो, वर्षात हुँदा पानीभन्दा हिलो धेरै खस्थ्यो तर आज त अमृत खसेजस्तो लागेको थियो । यस्तो अमृत जसलाई अञ्जुलीमा लिएर पिउँपिउँ जस्तो लाग्ने, सडकमा गएर भिज्दै नाचुँनाचुँ जस्तो लाग्ने ।  

सडकको अलिकति अगाडी ज्याकाराण्डाका फूलहरुमा काठमाडौँ ढकमक्क फूलेकी छिन् । बैँसकोे उत्कर्षमा पुगेर आफ्नो उन्माद जवानी पोखिरहेकी छिन् । त्यसैको उत्साहले होला, तराईको गर्मी फिर्ता गरेर काठमाडौले अचेल लुम्लेको वर्षात सापटी लिएकी छिन् । आफूभित्रका सम्पूर्ण विकारलाई पन्छाएर एक स्वस्थकर सास लिएकी छिन् ।  

प्रकृतिको विषम सुन्दरतामा हराईरहेको रहेछु क्यारे, भँगेराको चिरबिर चिरबिर आवाजले झसङ्ग भएँ । मलाई त बाहिर निस्केर प्रकृतीसँगै रमाउन मन थियो । तर म मानव घरभित्रै थुनिन विवस थिएँ, किनभने मैले वातावरणप्रतिकाे आफ्नो कर्तव्य बिर्सेको थिएँ । सायद माल्थसको सिद्धान्तसरी प्रकृती बाध्य भएर आजको यो अवस्था आएको हुनुपर्छ । आज बुझेँ प्रकृतिलाई म होईन, मलाई प्रकृति चाहिने रहिछिन् । उनीबिना म निरिह हुने रहेछु ।  

धन्न, मैले आफ्नो कर्तव्य बिर्सेपनि प्रकृतिले भने बिर्सेकी रहिनछिन् । त्यसैले त प्रकृति आफू स्वस्थ भएर मलाई स्वस्थ बनाउन अनेकौँ प्रयास गरिरहन्छिन् । उनलाई थाहा छ, उनको सुन्दरता बिगार्ने म नै हुँ र मेरो स्वतन्त्रता उनको लागि हानिकारक हुनेछ । त्यसैेले त प्रकृतीको कैदीसरी म घरमै थुनिएको छु ।    

त्यसैले आज आफ्नो गल्ती बोध गरेँ र अब उपरान्त आफ्नो ठाउँबाट सकेसम्म वातावरण संरक्षणकाे प्रयास गर्ने अठोट गरेर चियाको रित्तो कप समाती पुन: आफ्नै दैनिकीमा लागेँ ।   वातावरण दिवसकाे सम्पूर्णमा शुभकामना । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *