हप्तामा दुई दिन बिदा किन आवश्यक छ ?
सामाजिक आर्थिक विकासमा फड्को मार्न बढी मिहिनेत अवश्य गर्नुपर्छ तर उही परम्परागत शैलीमा नभएर अझ बढी स्मार्ट तरिकाले पनि गर्न सकिन्छ ।
प्रचलनमा नरहेको कुनै पनि कुरा आकस्मिक रुपमा लागू गर्ने गरी लिइएका निर्णयहरूले स्वभाविक रुपमा प्रतिक्रियाहरू निम्त्याउँदछन् । ती प्रतिक्रियाहरू सकारात्मक वा नकारात्मक दुवैथरीका हुन सक्छन् । निर्णयको स्वरुप हेरीकन सकारात्मक र नकारात्मक प्रतिक्रियाको ग्राफ तलमाथि हुन जान्छ । माथिको शीर्षक झट्ट देख्दा सार्वजनिक प्रशासनको अलिक नराम्रै छाप बसेका आममानिस र आ.व. २०७७/७८ को बजेट सार्वजनिक गर्ने क्रममा कर्मचारीले पाउँदै आएका सबैजसो भत्ता कटौती गरेको घोषणा हुँदैगर्दा जाेडदार रूपले टेबुल बजाउनुहुने माननीय सदस्यज्यूहरुबाट सायद नकारात्मक प्रतिक्रिया नआउलान् भन्न सकिँदैन ।
अति कम विकसित देशहरुको समूहबाट उभोँ लाग्न प्रयासरत हाम्रो देश आर्थिक, सामाजिक, राजनैतिक, भौतिक लगायत सबैजसो पूर्वाधारहरूको विकासमा केही पछाडी छ। लिपिबद्ध गरिएका योजनामा तय गरिएका विकासका सूचकहरूको उपलब्धी सयममै नहुनु हाम्रो नमिठाे यथार्थ जस्तै बनिसकेको छ । अझ हाम्रा छिमेकी तथा मित्रराष्ट्र लगायत हामीले दिनानुदिन नाम सुन्ने सबैजसो मुलुकमा एक हप्तामा काम गर्ने दिन हाम्रो भन्दा कम छ । अर्थात् हामी प्राय: देशहरुकाे तुलनामा हप्तामा एक दिन बढी काम गर्छौं । अन्य मुलुकहरूमा साताकाे दुई दिन बिदा हुँदा नेपालमा एक दिनको हुन्छ । यद्यपी समय हेर्दा कार्यघण्टा भने लगभग उत्तिउत्ति नै पर्न आउँछ ।
दुई दिने सप्ताहन्तले हप्ताभरीको कार्यबोझबाट विश्राम लिई शारीरिक थकान मेटाउन र मानसिक ताजगी बढाउन मद्दत पुग्दछ र फलस्वरुप कार्यस्थलमा बिताउने समय थप प्रभावकारी, गतिशील, रचनात्मक र सकारात्मक उर्जासहितको हुन जान्छ ।
विभिन्न कालक्रममा सातामा दुई दिन बिदा दिनुपर्ने चर्चा पनि नचलेका भने होइनन् । सार्वभौम संसदमै पनि यसबारेमा कुरा उठ्ने गरेको छ । तथापी, यसको विपक्षमा भन्ने गरेको सुनिन्छ- “विकसित देशहरु सँग बिदामा मात्र दाँजेर हुँदैन, उनीहरुको विकासको स्तरमा पुग्नको लागि हामीले अझ बढि (दिन) काम गर्नुपर्छ ।” निश्चय नै सामाजिक आर्थिक विकासमा फड्को मार्न बढी मिहिनेत अवश्य गर्नुपर्छ तर उही परम्परागत शैलीमा नभएर अझ बढी स्मार्ट तरिकाले पनि गर्न सकिन्छ । हप्तामा दुई दिन बिदा दिँदै कार्यालय समय थाेरै बढाएर कार्यालयहरु सञ्चालन गर्न सकिन्छ। भिम शमशेरको पालादेखी शुरु भएको शनिबार सार्वजनिक बिदा दिने र अरु दिन १० बजे देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने चलनमा समसामयिक विश्वसँग तादात्म्य हुनेगरी हप्तामा दुई दिन बिदा दिएर कार्यालय समय ९ बजे देखि ५ बजेसम्म गराउनु उपयुक्त देखिन्छ।
विद्यमान व्यवस्था अनुसार हप्तामा ६ दिन कार्यालय जानुपर्ने हुनाले शुक्रबार आधा दिन बिदा दिएतापनि कर्मचारीको पूरै दिन लगानी भएको हुन्छ । अर्कोतिर सेवाग्राहीलाई सेवा लिन पनि समयको सिमा रहन जान्छ । त्यस्तै, हप्तामा एक दिन हुने बिदाले कर्मचारीहरुलाई व्यक्तिगत एवं पारिवारिक समय निकाल्न मुस्किल हुन्छ । कतिपय योजना त समय अभावमा त्यत्तिकै थाँति बस्छन् । दुई दिने सप्ताहन्तले व्यक्तिगत जीवनका काम गर्न, परिवारसँग समय बिताउन, घुमफिर गर्दै अनुभव हाँसिल गर्न तथा देश बुझ्न समेत सघाउ पुर्याउँछ । घुमफिर गर्ने तथा परिवारसँग समय व्यतीत गर्नाले कर्मचारीमा हप्ताभरीको कार्यबोझबाट विश्राम लिई शारीरिक थकान मेटाउन र मानसिक ताजगी बढाउन मद्दत पुग्दछ । त्यसको फलस्वरुप कार्यस्थलमा बिताउने समय थप प्रभावकारी, गतिशील, रचनात्मक र सकारात्मक उर्जासहितको हुन जान्छ ।
नेपालमा विभिन्न धर्म वा जातिका पर्व-अवसरका नाममा दिइने बिदाले गर्दा बिदाको संख्या अहिले धेरै छ, त्यसैले दुई दिन बिदा दिनु हुँदैन भन्ने मत पनि हुन सक्छ । यसको सम्बोधन गर्न धर्मविशेष चाड पर्वका बिदा कटौति गरेर कर्मचारीले बिदा लिन पाउने निश्चित दिन तोकी सोही बाट काटिने गरी आवश्यकतानुसारकाे चाडपर्वमा बिदा लिने प्रबन्ध मिलाउन सकिन्छ । तर, नेपाली समाज हिन्दू बाहुल्य भएकाले दशैँ र तिहारमा भने कार्यालय बन्द गर्दा नै उपयुक्त हाेला । यसो गर्दा वर्षभरी हुन जाने सार्वजनिक बिदाको संख्या समेत न्यून हुन्छ ।
कार्य दिन घटाएर कार्यालय समय बढाउनाले इन्धन बचत हुने तथा सरकारी सवारीको प्रयोगमा कमी आउने हुनाले खर्चको हिसाबले आर्थिक मितव्ययीता समेत कायम हुन जान्छ । शहरी क्षेत्रमा हुने अत्यधिक जाम हप्तामा दुई दिन खुकुलाे हुने र ट्राफिक व्यवस्थापनमा समेत ठूलाे मद्दत पुग्ने देखिन्छ । साथै, हप्ताको दुई दिनको दरले हुने सवारी साधनको सीमित आवागमनले वायुप्रदुषण घटाउन मद्दत पुर्याई वातावारणीय स्वच्छता कायम गर्न सघाउँदछ ।
त्यस्तै, छिमेकी मुलुक तथा अन्य मित्रराष्ट्रहरुसँग कार्यालय समयमा एकरुपता कामय हुने हुनाले पनि दुई दिनको बिदा मनासिव देखिन्छ । विदेशी प्रतिनिधिहरुसँग वार्ता एवं संवाद गर्दा पनि हामी उनीहरुकै समयअनुसार चलिरहेका हुन्छौँ । कार्यालय समय परिमार्जन गर्दा त्यसरी हुने छलफल एवं संवादलाई कार्यालय समय बाहेकको समय छुट्टाइराख्नुपर्ने जरुरत समेत रहँदैन । अझ फिनल्याण्ड लगायतका केही मुलुकहरुले हाल कायम कार्यदिन अझै घटाउने र बिदाका दिन बढाउने तर्फ कदम चालिरहेका छन् ।
कार्य दिन घटाउँदै गर्दा अत्यावश्यक सार्वजनिक सेवाका क्षेत्रहरु जस्तै: विमानस्थल, भन्सार, अस्पताल, हुलाक लगायतमा भने बिदाका दिनमा पनि सेवाग्राहीलाई मर्का नपर्ने गरी सिफ्टमा कर्मचारी खटाउन सकिन्छ । बिदाका दिनमा सीमित कर्मचारीबाट सेवा प्रवाह गर्ने विकल्प पनि छ । त्यस्ता अति आवश्यक सेवामा खटिनेको कर्मचारीकाे हकमा सट्टा बिदा लिन पाउने व्यवस्था मिलाउन सकिन्छ, जुन प्रावधान कतिपय कार्यालयहरुमा हाल पनि कायम नै छ ।
कहिलेकाहीँ केहि व्यक्तिले कुरा उठाएपनि क्षणभंगुर हुने गरेको यो मुद्दामा विश्व परिवेशसँग मिल्नेगरी सामयिक निर्णय लिने बेला भएको छ । धेरै दिन काम गर्नुभन्दा थोरै समयमा प्रभावकारी तवरले काम गर्नु बढि उपलब्धीमुलक हुने तर्कलाई समेत नजरअन्दाज गर्न सकिँदैन । विभिन्न मुलुकले कार्यालयमा कम समय बिताउँदा कर्मचारीको कार्यसम्पादनमा चुस्तता आउने निष्कर्ष निकाली बिदाको संख्या बढाउँदै लगेको परिवेशमा हामीले पनि सेवा प्रवाह र विकासका कार्यमा सम्झौता नगरिकन कार्यदिन र कार्यसमय समायोजन गर्नु उचित हुनेछ । त्यसैले हाललाई कार्यदिन हप्तामा ५ र कार्यसमय सबै कार्यदिनको लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्नु श्रेयस्कर हुने देखिन्छ ।
— सन्दिप सापकाेटा


